बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रिय सभा चुनावमा रोपिएको थियो विवेकशील साझा पार्टीमा विवादको बिउ

शनिबार, पुष २८ २०७५

काठमाडौं पुस, २८–गत वर्ष माघमा भएको राष्ट्रिय सभा चुनावका क्रममा विवेकशील साझा पार्टीमा विवादको बिउ रोपिएको थियो ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका कांग्रेससमर्थित राधेश्याम अधिकारीलाई पार्टीले भोट दिने निर्णय गरेपछि विवाद सुरु भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संयोजक मिश्रपक्षले अधिकारीको समर्थन गर्दा थापा पक्षले आपत्ति जनायो । थापापक्षले आफ्नै उम्मेदवार उठाउनुपर्ने आवाज उठायो । अन्ततः विवेकशील साझाको मत पाएर अधिकारी विजयी भए । त्यही निहुँबाट सुरु भएको विवाद विवेकशीलभित्र भुसको आगोझैँ सल्कियो ।

१९ साउनमा प्रदेश ३ का संयोजक र प्रदेशका पाँच जिल्ला संयोजकको नियुक्तिले विवाद झन् बढायो । असन्तुष्ट भएर चार केन्द्रीय सदस्यले पार्टी नै परित्याग गरे । पछिल्ला केही समययता थापा देश दौडाहामा निस्किए ।

कार्यकर्ताको सुझाबसहितको प्रतिवेदन तयार गरे । मिश्रपक्षलाई चित्त बुझेन । लगत्तै गत मंगलबार थापाको अनुपस्थितिमा मिश्रपक्षले पार्टीका १२ विभाग खारेज गरिदियो ।

पाँच नयाँ केन्द्रीय सदस्य मनोनयनको सिफारिस ग-यो । प्रदेश संयोजक पनि थपे । सो निर्णय अनुमोदन गर्न आगामी सोमबार केन्द्रीय समिति बैठक आह्वान भएको थियो । मिश्रपक्षको निर्णयबाट असन्तुष्ट थापापक्षले भने बैठक बहिष्कार गर्ने बताएको थियो । तर, बैठक नआउँदै थापा पक्षले पार्टी फुटायो ।