आज पसल बन्द गरिने
काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले सरकारले सुनमा भन्सार वृद्धि र सुनमा राखिएको विलासिता करको खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
व्यवसायी संघले एक सूचना जारी गर्दै उक्त आन्दोलनको घोषणा गरेको हो ।
एक सूचना मार्फत संघले सुनको भन्सारमा गरिएको वृद्धिका कारण उपभोक्तालाई मार परेको, भन्सार दर १५ बाट २० प्रतिशत बृद्धि गरिएको सुनचाँदी सम्बन्धी ऐन, नियम, निर्देशिका हालसम्म प्रकाशन नगरेको र सुनलाई विलासि वस्तुमा राखेर २ प्रतिशत विलासिता कर लगाइएकोमा विरोध जनाएको छ ।
हाल नेपाल सरकारले सुनको भन्सार दर १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत गरिएको व्यवसायीहरुलाई व्यवसाय गर्न ऐन, नियम, मापदण्ड माग गर्दा समेत प्रकाशन नभएको, एक व्यवसायीले एकलौटी रुपमा सस्तो प्रचार गरेको विषय कालिगढ र व्यवसायीमुखी नभएकोले सो को विरोध जनाउँदै उपत्यकाका १० वटा संघहरुले सामुहिक रुपमा विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाई सकेको पनि सूचनामा उल्लेख छ ।
उक्त विषयको विरोध जनाउँदै सरकारलाई दबाब दिन आज काठमाडौंको आरएनएसी न्यूरोड गेटमा विरोध र्याली गर्ने नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
व्यवसायी संघले सुन व्यवसायमा सम्लग्नहरुलाई पसल, कार्यालय तथा कारखाना बन्द गरी आआफ्नो कालिगढ र कर्मचारीहरुलाई समेत उक्त शान्तिपूर्ण र्यालीमा सहभागी तथा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध समेत गरेको छ ।
