६८ दशमलव पाँच प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण
काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप चार खर्ब ४३ अर्ब आठ करोड अर्थात सात दशमलव आठ प्रतिशतले बढेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ७० अर्ब ७८ करोड अर्थात सात दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव आठ प्रतिशतले बढेको छ । २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच प्रतिशत, २९ दशमलव एक प्रतिशत र ५९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, २५ दशमलव आठ प्रतिशत र ५९ दशमलव नौं प्रतिशत रहेको थियो । २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव सात प्रतिशत रहेको छ । २०८० बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव तीन प्रतिशत रहेको थियो।
चालु आर्थिक बर्षको पछिल्लो १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने दुई खर्ब २५ अर्ब २४ करोड अर्थात चार दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ५३ अर्ब १७ करोड अर्थात तीन दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पाँच दशमलव दुई प्रतिशतले बढेको छ । २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव नौं प्रतिशत र ३६ दशमलव एक प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार दशमलव सात प्रतिशतले, विकास बैंकहरुको तीन दशमलव नौं प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह छ दशमलव तीन प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ दशमलव एक प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८ दशमलव पाँच प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव एक प्रतिशत र ६७ दशमलव तीन प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शुन्य दशमलव चार प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा नौं दशमलव आठ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव एक प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा पाँच दशमलव छ प्रतिशतले बढेको छ ।
चालु आवको पछिल्लो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८ दशमलव आठ प्रतिशतले, नगद प्रवाह कर्जा २५ दशमलव छ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) छ दशमलव आठ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२ दशमलव छ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४४ दशमलव सात प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारण समेत), ट्रष्ट रिसिट (आयात) कर्जा शुन्य दशमलव पाँच प्रतिशतले र हायर पर्चेज कर्जा २१ दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ।