बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिनेमाघरमा ‘दान्भी’, र ‘आचार्य’

शुक्रबार, असार ७ २०८१

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् रूपेश तामाङको निर्देशन रहेको ‘दान्भी र प्रशान्त रसाइलीको निर्देशन रहेको ‘आचार्य’ । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शनमा आएको हो ।

शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा रुपेश तामाङको निर्देशन रहेको चलचित्र ‘दान्भी’ र प्रशान्त रसाइलीको निर्देशन रहेको ‘आचार्य’ प्रदर्शनमा आएका छन् । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शनमा आएको हो भने चलचित्र ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा छ ।

विसं. २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले जानकारी गराए । चलचित्रको बुधबार काठमाडौंको सिटी सेन्टरमा विशेष प्रदर्शन पनि गरिएको थियो । ‘यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौं । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ’, गायक सत्यराजले भने।

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन्। गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

यस्तै, आजबाट प्रदर्शनमा आएको चलचित्र ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा छ । चलचित्रमा पूजासँगै कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । हरिबहादुर घलेको छायांकन रहेको चलचित्रमा रविना थापामगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । चलचित्रको निर्मातामा देव मगर र अनुप गडाल हुनुहुन्छ भने कार्यकारी निर्माता पवन रानामगर हुनुहुन्छ ।