बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खर्च कमजोर हुँदा बिकास निर्माणका काम प्रभावित

चालु आर्थिक बर्ष सकिनै लाग्दा सरकारको कुल खर्च आठ खर्ब एक अर्ब ५८ करोड

मंगलबार, बैशाख २५ २०८१

काठमाडौं  । सरकारी खर्च कमजोर हुँदा बिकास निर्माणको काम प्रभावित भएको छ । बिकास निर्माणको लागि सरकारी ढुुकुटीमा पर्याप्त मात्रामा पैसा भएपनि सरकारले समयमा नैं ठेक्का पट्टाको काम खुलाउनको नसक्दा बिकास निर्माणका कामहरु प्रभावित भएका हुन ।

नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रकको कार्यालय समेतबाट विवरण लिएर सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार सरकारले चालु खर्चतर्फ पाँच खर्ब ८२ अर्ब ११ करोड, पुँजीगत खर्चतर्फ ८१ अर्ब २१ करोड र वित्तीय व्यवस्थातर्फ एक खर्ब ३८ अर्ब ३६ करोड रुपैंयाँ समेत गरी कुल आठ खर्ब एक अर्ब ५८ करोड रुपैंयाँ मात्र खर्च गरेको छ । सरकारले गरेको यो खर्चको बृद्धिदर गत आवको सोही अवधिको तुलनामा कम हो ।

राष्ट्र बैंकका अनुुसार सरकारी खर्च गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा १५ दशमलव चार प्रतिशतले बढेकोमा चालु आवको फागुन मसान्तसम्ममा दुई दशमलव नौं प्रतिशतले मात्र बढेको छ । गत आवको सोही अवधिमा भने सरकारले चालुतर्फ छ खर्ब आठ अर्ब ८४ करोड, पुँजीगततर्फ ८४ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ ८६ अर्ब १३ करोड रुपैंयाँ समेत गरी कुल सात खर्ब ७९ अर्ब २३ करोड रुपैंयाँ खर्च राष्ट्र बैंकको भनाई छ । यसैगरी चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) छ खर्ब ३९ अर्ब पाँच करोड रुपैंयाँ रहेको छ । यस मध्ये कर राजश्वको माध्यमबाट पाँच खर्ब ७८ अर्ब ६७ करोड र गैर कर राजश्वको माध्यमबाट ६० अर्ब ३७ करोड रुपैंयाँ परिचालन भएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा सरकारको कुल राजश्व परिचालन पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपैंयाँ रहेको थियो । जसमध्ये कर राजश्वतर्फ पाँच खर्ब २६ अर्ब ४७ करोड र गैर कर राजश्वतर्फ ५६ अर्ब ३० करोड रुपैंयाँ रहेको थियो । आव २०७८/०७९ मा भने सरकारले कर राजश्वको माध्यमबाट छ खर्ब २७ अर्ब ९० करोड र गैर कर राजश्वको माध्यमबाट ५६ अर्ब ७९ करोड रुपैंयाँ समेत गरी कुल छ खर्ब ८४ अर्ब ७० करोड रुपैंयाँ राजश्व परिचालन गरेको थियो, राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा भने १४ दशमलव नौं प्रतिशतले घटेको राजस्व, चालु आवको पछिल्लो आठ महिनामा नौं दशमलव सात प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व पाँच खर्ब ७८ अर्ब ६७ करोड र गैर कर राजस्व ६० अर्ब ३७ करोड परिचालन भएको महालेखाको भनाई छ । चालु आवको पछिल्लो आठ महिनाको अवधिसम्ममा नेपाल राष्ट्र बैंकमा सरकारको नाउँमा रहेको बिभिन्न खाताहरुमा दुई खर्ब चार अर्ब ९६ करोड रुपैंयाँ नगद मौज्दात रहेको छ । यो मौज्दातमा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत समावेश भएको महालेखाले जानकारी दिएको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैंयाँ रहेको थियो ।

प्रदेश सरकारहरुको कुल खर्च भने चालु आवको पछिल्लो आठ महिनामा ६४ अर्ब १४ करोड रुपैंयाँ रहेको छ । यस अवधिमा प्रदेश सरकारको श्रोत परिचालन एक खर्ब १५ अर्ब ३५ करोड रुपैंयाँ रहेको राष्ट्र बैंकको भनाई छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ८७ अर्ब २९ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २९ अर्ब छ करोड रुपैंयाँ रहेको राष्ट्र बैंकको भनाई छ ।