बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्मला पन्त प्रकरणः लापरबाही गरेको आरोपमा बर्खास्तीमा परेका दुई प्रहरी प्रमुखद्वारा पुनर्वहालीको माग

आइतबार, मंसिर १६ २०७५

कञ्चनपुर मंसिर, १६–
 बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा बर्खास्तीमा परेका दुई प्रहरी प्रमुखले पुनर्वहालीको माग गरेका छन् । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले पुनर्वहालीको माग   गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका हुन् । 

घटनाको अनुसन्धानमा प्रारम्भदेखि नै लापरबाही खुलेको विभिन्न समितिले निष्कर्ष निकालेपछि उनीहरुलाई बर्खास्त गरिएको थियो । बर्खास्त गरिएको ३५ दिनभित्र पुनर्बहालीको लागि निवेदन दिन सकिने प्रावधान अनुरुप उनीहरुले निवेदन दिएको स्रोतले बतायो ।

विष्टको कमाण्डमा रहेको कञ्चनपुर प्रहरीले घटनामा मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, निर्मलाको भजाइनल स्वावमा भेटिएको डीएनए र विष्टको डीएनए नमिलेपछि उनी छुटेका थिए ।

मन्त्रीपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालतमा जाने उनीहरुको तयारी छ । प्रकरणमाथिको अनुसन्धान नै पूरा नभइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २९ असोजमा विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरेका थिए ।

उनीहरुलाई भविष्यमा सरकारी सेवामा योग्य हुने गरी सेवाबाट हटाइएको थियो । यसअघि १० साउनमा घरबाट हराएकी बालिका निर्मलाको भोलिपल्ट उखुबारीमा विभत्स अवस्थामा शव भेटिएको थियो ।