वासिङ्गटन डिसी । अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
हाल अमेरिकामा रहेका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजना गरेको राउण्ड टेवल छलफलमा सो आग्रह गरेका हुन् ।
कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राखेका थिए ।
सो कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता रहेको थियो ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते आयोजना गरिएको छ ।
यसैबीच अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षहरु अकिहितो निशीओ र गुन्जे चेनसँग भेटघाट गर्नुभएको छ । चेनसँगको भेटघाटमा मन्त्री पुनले उपल्लो अरुण जलविद्युत् आयोजनाका लागि बैंकको लगानीसम्बन्धी विषयमा छलफल गर्नुभएको थियो ।
यसैगरी अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेट गरी अर्को चरणको निगमको लगानीमा विस्तार गर्नेबारेमा समेत छलफल गरेका थिए । निगमले नेपालमा साना व्यवसायको वित्तीय साधन पहुँचका लागि महिलाहरुले सञ्चालन गरेका फर्म तथा पर्यावरणमैत्री आयोजनाका लागि ग्लोबल आइएमई बैंकमार्फत पाँच करोड ६० लाख डलर बराबरको लगानी गरेको छ ।
रासस