आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

चार खर्ब ३५ अर्ब रुपैंयाँले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप ६७ दशमलव पाँच प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण

आइतबार, बैशाख २ २०८१

बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम सात दशमलव छ प्रतिशत अर्थात चार खर्ब ३५ अर्ब ८७ करोड रुपैंयाँले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप पाँच दशमलव पाँच प्रतिशत अर्थात दुई खर्ब ८० अर्ब ५७ करोड रुपैंयाँले बढेको हो ।

वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दश्मलव छ प्रतिशतले बढेको छ । २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव पाँच प्रतिशत, २८ प्रतिशत र ५८ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव नौं प्रतिशत, २५ दशमलव सात प्रतिशत र ५९ दशमलव आठ प्रतिशत रहेको थियो ।

२०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव पाँच प्रतिशत रहेको छ । २०७९ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव दुई प्रतिशत अर्थात एक खर्ब ९९ अर्ब ५० करोड रुपैंयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई दशमलव आठ प्रतिशत अर्थात एक खर्ब २८ अर्ब १८ करोड रुपैंयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा पाँच दशमलव दुई प्रतिशतले बढेको छ । २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव दुई प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव आठ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव छ प्रतिशत र ३५ दशमलव चार प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार दशमलव दुई प्रतिशतले, विकास बैंकहरुको तीन दशमलव पाँच प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह तीन दशमलव नौं प्रतिशतले बढेको छ । २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जा मध्ये ११ दशमलव सात प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७ दशमलव पाँच प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

२०७९ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव दुई प्रतिशत र ६७ दशमलव पाँच प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शुन्य दशमलव तीन प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव सात प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा छ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा आठ दशमलव तीन प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव दुई प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच दशमलव दुई प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा छ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १५ दशमलव नौं प्रतिशतले, नगद प्रवाह कर्जा २४ दशमलव छ प्रतिशतले, ट्रष्ट रिसिट अर्थात आयात कर्जा ११ दशमलव पाँच प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) पाँच दशमलव प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२ दशमलव तीन प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारण समेत) र हायर पर्चेज कर्जा २० दशमलव सात प्रतिशतले घटेको छ ।