बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

योगी आदित्यनाथलाई निम्तो टुंगो लागेकै छैन

शनिबार, मंसिर ८ २०७५

८ मंसिर, काठमाडौं–बिमस्टेक सम्मेलनका बेला चौथो पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाँचौंपटक आउन निम्तो दिएका थिए, केपी ओलीले । विवाह पञ्चमीमा जनकपुरको रामजानकी मन्दिर आउन ओलीको निम्तोमा मोदीले स्वीकारोक्ति पनि जनाएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

भारतीय लोकसभा चुनावका कारण उनी आउन नसक्ने भएपछि विवाह पञ्चमीमा भारतीय पाहुना को हुने भन्नेबारे विभिन्न अडकलबाजी भएका छन् । परराष्ट्र मन्त्रालयमा केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने प्रसंग चलेको थियो । मोदीले आफ्नो प्रतिनिधिस्वरूप रेल्वे मन्त्री पीयूष गोयललाई पठाउने तयारी गरेको आँकलन पनि भयो । तर, यसबारे कुनै टुंगो लागिनसकेको परराष्ट्रले जनाएको छ ।

‘योगी आउने भन्नेबारे हल्का कुरासम्म भएको हो तर कुनै निर्णय भएको छैन,’ स्रोतले भन्यो । भारतीय पक्षबाट भ्रमण रद्द भएपछि मोदी र ओलीबाट संयुक्त रुपमा जनकपुर–जयनगर रेलमार्ग उद्घाटन गर्ने कार्यक्रम पनि नहुने स्रोतले बतायो ।

प्रदेश सरकारले भने रेलमार्ग उद्घाटन भएरनभए पनि विवाह पञ्चमीमा उच्चस्तरका छिमेकी अतिथि आउने आशा गरेको छ । ‘जनकपुरमा जो भए पनि विवाह पञ्चमीका दिन आउने पाहुनालाई हामी भव्य स्वागत गर्छौं,’ प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘को आउने भन्नेबारे संघीय सरकारको परराष्ट्र मन्त्रालयले तय गर्ने हो, हामीलाई अहिलेसम्म केही भनिएको छैन ।’