काठमाडौं मंसिर ५–
महन्थ ठाकुरलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले पार्टीको संयोजक पदबाट हटाएको छ ।
मंगलबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजक पदबाट हटाउने निर्णय गरेको महासचिव केशव झाले बताए ।
विधानअनुसार नेतृ चक्रीय प्रणालीमा लैजाने निर्णय पनि अध्यक्षमण्डलले गरेको छ । चक्रीय प्रणालीमा जाने बारेमा सहमति हुन नसकेपछि बहुमतबाट निर्णय भएको स्रोतले जनाएको छ ।
मंसिर ५ गतेदेखि लागू हुने गरेर राजपाको संयोजकको जिम्मेवारी राजेन्द्र महतोले पाएका छन् । पार्टी एकीकरण गर्ने बेला भएको सहमति अनुसार आलोपालो गरे राजपाको संयोजक र पार्टीको नेतृत्व गर्ने निर्णय भएको थियो ।
राजपाले महाधिवेशनलाई ध्यानमा राखेर विभिन्न सांगठनिक निर्णयहरू पनि गरेको छ । सदस्यता वितरणको समय थप गरेको छ । निर्वाचनन आयोगमा बुझाइएको नामावलीलाई आधार मानेर अगाडि बढ्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।