११ कात्तिक, काठमाडौं–
एशियाली विकास बैंकको अनुदानमा लुम्बिनीमा चलाउन भनि आएको विद्युतीय बस काठमाडौं पुगेको छ । बस काठमाडौं पुगे पनि अनुदानको रकमबाट बन्ने चार्जिङ स्टेशन भने लुम्बिनीमै बन्न लागेको छ ।
एशियाली विकास बैंकको अनुदानमा करिब २९ करोड रुपैंयाको लागतमा पाँच वटा विद्युतीय बस र ११ वटा टयाक्सी सञ्चालन गर्ने गरी अनुदान आएको लुम्बिनी विकास कोषका योजना अधिकृत सरोज भट्टराईले बताए ।
२७ करोडमध्ये १३ करोड गाडी र ट्याक्सी खरिदमा प्रयोग भएको छ भने बाँकी रकम लुम्बिनीमा एक सय तीस भन्दा बढी विद्युतीय रिक्सा र हाल खरिद गरिएका बस र ट्याक्सी चार्जका लागि स्टेशन बनाउन खर्च गर्ने योजना अधिकृत भट्राईले बताए । ती सम्पूर्ण सोलार सिस्टम बाट बन्ने छन् । लुम्बिनी विकास कोष परिषरमा हाल एउटा चार्जिङ स्टेशन भने तयारी अवस्थामा छ ।
बैकको सहयोगमा भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल बन्दै छ । बिमानस्थलसँग लुम्बिनीलाई जोड्न सोलारको माध्यमबाट एक सय ५० केभि बिधुत उत्पादन गरि सोहीबाट चार्जिङ स्टेशन निमार्ण गरि गाडी सञ्चालनका लागि अनुदान आएको लुम्बिनी बिकास कोषले जनाएको छ ।
राजधानीमा बिजुली बस उद्घाटन भईरहँदा यसको खरिद प्रकृया र मूल्यका बिषयमा बहस सुरु भएको छ । कोषका लागि आएको अनुदान रकम केन्द्रबाट गाडी खरिद प्रकृया हुनु र एउटा गाडीको मुल्य पौने दुई करोड सम्म पर्नु अध्ययनको बिषय भएको यातायात क्षेत्रका जानकारहरु बताउँछन् । खरिद गरिएको गाडीको मुल्य पौने दुई करोड र ट्याक्सीको मूल्य चालीस लाख रुपियाँ रहेको लुम्बिनी बिकास कोषले जनाएको छ ।