२२ भदौ, काठमाडौं–भारतीय व्यवसायी रामनिरञ्जन जटियाको ७० करोड रुपैयाँ सम्पत्ति भएको कम्पनी उनलाई थाहै नदिई बिक्री गर्ने कम्पनी रजिस्ट्रार कार्यालयका दुई कर्मचारी फरार भएका छन् । प्रहरीले अनुसन्धान सुरु गरेलगत्तै गंगाधर पौडेल र धर्मराज रोकाय फरार भएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनीहरूले नक्कली कागजपत्रका आधारमा जटियाको शंकर इलेक्ट्रोनिक्स कम्पनीको सेयर जितबहादुर मगरको नाममा नामसारी गरिदिएका थिए । कम्पनीको विशेष साधारणसभामार्फत जटियाको कम्पनीको सेयर आफूले किनेको कागजपत्र पेस गरे । कम्पनीमा एक मात्र सञ्चालक राख्ने भएको नक्कली निर्णयको पत्रसमेत पेस गरे । त्यसपछि जग्गा बिक्री प्रक्रिया अघि बढेको हो ।
कम्पनी आफ्नो नाममा ल्याई जग्गा बिक्रीको प्रक्रिया अघि बढाउँदा जटियाले थाहा पाएपछि जितबहादुर फरार भएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा कर्मचारीकै मिलेमतो खुलेको हो । कम्पनी रजिस्ट्रार कार्यालयका दुई अधिकृतसहित चारजना पक्राउ परिसकेका छन् ।
सिआइबीका एसपी सानुराम भट्टराईका अनुसार जितबहादुर जटियाकै पूर्वकर्मचारी हुन् । आफू विदेशमा भएका वेला घरको गहना चोरी गरेको आरोपमा उनलाई केही महिनाअघि हटाएका थिए । तर, उनको कम्पनीका कतिपय कागजपत्र मगरसँगै थियो ।
सो कुरा थाहा पाएपछि उनका साथीहरू राजन लम्साल र नीरज मानन्धरले नक्कली कागजपत्र बनाएर जग्गा बिक्री गर्ने योजना सुनाएका थिए । सोहीअनुसार जितबहादुरले कानुन व्यवसायी पुण्यप्रसाद खरेलसँग छलफल गरेर उनीमार्फत नै कम्पनी रजिस्ट्रारको कार्यालयमा सेटिङ मिलाई प्रक्रिया अघि बढाएका थिए ।
योजनाअनुसार २९ र ३२ असारमा कम्पनी रजिस्ट्रारको कार्यालयबाट जटियाको कम्पनी जितबहादुरकोे नाममा दर्ता भएको थियो । जटिया सामान्य सञ्चालक मात्र भए । कम्पनीको नाममा सतुंगलमा १५ रोपनी जग्गा छ । सो जग्गा बेच्न उनले जापानमा व्यवसाय गर्ने प्रेमसागर सापकोटासँग प्रतिआना १० लाख २५ हजारका दरले डिल पनि गरे । दुई करोड रुपैयाँ बैनासमेत लिइसकेका थिए ।
जटियाको बालुवाटरको तीन रोपनी जग्गामध्ये १४ आना एक पैसा तीन दाम जग्गा प्रतिआना २५ लाख रुपैयाँका दरले बेच्नका लागि राजभाइ श्रेष्ठसँग एक करोड बैना लिए । आफ्नो जग्गा नापजाँच भएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । जग्गा किन्न खोज्ने सापकोटा र श्रेष्ठ पनि प्रकरणमा ठगिएका छन् ।
प्रहरीले सो प्रकरणमा अधिवक्ता पुण्यप्रसाद खरेललाई समेत पक्राउ गरेको छ । जसको मुख्य योजनाकार जितबहादुर तथा साथीहरू राजन र नीरज भएको एसपी भट्टराईले बताए । उनीहरूलाई सहयोग गर्ने राजकुमार तामाङ, चिरीबाबु महर्जन, हिमाल महर्जन र अमृत थापामगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक लगानी रहेको कम्पनीको सेयर हस्तान्तरण उद्योग विभागको सहमतिमा मात्र हुने प्रावधान छ । उद्योग विभागको सहमतिविना नै कर्मचारीले कम्पनी नामसारी गरेपछि मिलेमतो प्रस्ट भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले ठगी, चोरी, साइबर क्राइम र संगठित अपराध मुद्दामा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा फाइल पेस गरेको छ । पक्राउ परेका कम्पनी रजिस्ट्रार कार्यालयको आइटी शाखाका दुई कर्मचारीले भने आफूहरूलाई त्यस विषयमा कुनै जानकारी नभएको र फसाइएको गुनासो गरेका छन् ।
नक्कली कागजपत्रका आधारमा कम्पनीको नामसारी हुन थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसमा कडाइ थालेको छ । उद्योगमन्त्री मातृकाप्रसाद यादवले सम्बन्धित धनीको उपस्थितिविना सेयर हस्तान्तरणको निर्णय नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशन दिएको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।