काभ्रे भदौ, २१–
लुटेराको समूहले काभ्रेमा ३ लाख ५० हजार नगद र एउटा शंख लुटेको छ । काभ्रेको खानीखोला गाउँपालिका–७ मा रहेको छोइछेल कुण्डलाङ गुम्बाका पुजारी तिलक लामालाई पेस्तोल देखाएर लुटेराहरुको एक समूहले लुटेको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार मंगलबार दुई मोटरसाइकलमा आएका उनीहरुले पुजारीलाई बाँधेर पेस्तोल देखाउँदै शंख र रकम लिई भागेका हुन् ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी निरीक्षक परशुराम घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले ५ जनालाई पक्रेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे खानीखोला ७ का अनिल घिसिङ, खानीखोला २ का रमेश थोकर र सोही स्थानका जगतबहादुर गोले रहेका छन् । त्यसैगरी काभ्रेको पनौती नगरपालिका ८ का विकास बन्जारा र निशान गोले पनि सोही अभियोगमा पक्राउ परेका छन् । उनीहरुकाबारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।