२१ भदौ, काठमाडौं–प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो ।
उक्त समयसीमा बुधबार सकिएको हो। सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए ।
उनले भने, ‘तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन् । शुक्रबार बिहान बैठक बोलाइएको छ । सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’ यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।