काठमाडौं भदौ, १७–
गुण्डा नाइके दावा लामालाई भारतीय प्रहरीले नक्कली नोट कारोबार गरेको सूचना पाएपछि पक्राउ गरेको खुलेको छ ।
नेपालमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दूबईबाट भारत ओर्लिएका थिए । उनी सिलिगुडीस्थित बागडोग्रा विमानस्थलमा आउने क्रममा दिल्लीमै प्रहरीले पक्राउ गरेको हो । तरुण दल, काभ्रेका अध्यक्ष समेत रहेका लामालाई ‘फेक करेन्सी’ को कारोबारको अभियोगमा पक्राउ गरिएको तरुण दलले जनाएको छ ।
नेपाल प्रहरीका एक अधिकारीले पनि लामामाथि भारतीय प्रहरीले उनीमाथि नक्कली नोट कारोबारको आरोपमा पक्राउ गरेको पुष्टि गरे । हाल उनीमाथि कोलकता प्रहरीले अनुसन्धान गरिरहेको सूचना आएको ती अधिकारीले बताए ।
काठमाडौं प्रहरी परिसरले बर्गिकरण गरेको गुण्डाहरुको सूचीमा ‘क’ वर्गमा परेका लामालाई पछिल्लो समय नेपाल प्रहरीले पनि खोजी रहेको थियो । प्रहरीले पछिल्लो समय भारतको सिक्किममा बसेर नेपालमा आपराधिक क्रियाकलाप चलाइरहेको आशंका गरेको थियो । पछिल्लो पटक उनी इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउने कार्यमा सक्रिय रहेको खुलेको थियो ।
काठमाडौं प्रहरी परिसरले १५ जेठमा आईपीएल बेटिङमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रिय फुटबलर अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो ।
उनीहरुको बयानका आधारमा लामा पनि सट्टेबाजीको धन्दामा सक्रिय रहेको खुलेको थियो । त्यसयता परिसरले लामालाई खोजी रहेको थियो ।
लामामाथि काठमाडौंको गौरीघाटमा ०७३ चैतमा गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको जिम हाउसमा गोली प्रहार भएको थियो । घटनापछि काठमाडौंका तत्कालिन एसएसपी छविलाल जोशीलाई फोन गरेर अर्का गुन्डा लोप्साङ लामाले जिम्मेवारी लिएका थिए ।
त्यसअघि उनी १० माघ ०६७ मा मानव बेचबिखन सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । तर, धरौटीमा छुट्न सफल भए ।