काठमाडौं भदौ, १४–
बंगलादेशी प्रधानमन्त्री शेख हसिना प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन् । उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।
मध्यान्ह १ः४५ बजे शिखर सम्मेलनको समापन हुने परराष्ट्र मन्त्रालयले तयार पारेको तालिकामा उल्लेख छ । आफ्नो देशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश फर्कन लागेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् । विद्यार्थी आन्दोलन, पत्रकार पक्राउजस्ता विषयका कारण उनको भ्रमण छोट्टिएको द डेलीस्टार डटनेटले उल्लेख गरेको छ ।
हसिनाले घरेलु राजनीतिका कारण बिमस्टेक बैठकमा आउन नसक्ने जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराएकी थिइन् । प्रधानमन्त्री ओलीले फोन गरेर उनलाई ‘अघिल्लो दिन आएर भोलिपल्ट चाडै जानुहोला’ भनेपछि उनी वचन हार्न नसकेर काठमाडौं आएकी हुन् ।