आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेलाई थप १ हजार बक्सिस

सोमबार, कार्तिक १३ २०८०

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको भन्ने व्यवसायी दुर्गा प्रसाईंलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

दसैँअघि प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको दाबी गरेका थिए।

पार्टी कार्यक्रमका लागि सोमबार पोखरा पुगेका अध्यक्ष ओलीले आफूमाथि निराधार आरोप लगाएको बताउँदै पुष्टि गर्न चुनौती दिए। उनले आफ्नो लगानी रहेको पुष्टि गर्नेलाई थप एक हजार बक्सिस दिने घोषणा गरेका हुन्।

ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस् धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु। एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो।’

आफूमाथि विगतमा पनि यस्ता नचाहिँदो आरोप लगाइने गरेको उल्लेख गर्दै ओलीले आरोप लगाउनेहरुलाई ‘भुस्याहा कुकुर’को संज्ञा दिए।

आफूविरुद्ध भारतीय मिडियाले गरेको कुप्रचारलाई मसला बनाइएको उल्लेख गरे। ओलीले आफू र श्रीमतीको नामको सबै सम्पत्ति राष्ट्रका नाममा दान गरिसकेको दाबी गरे।