काठमाडौँ – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । बास्तोलाले चलाएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो ।
बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बिहीबार राति काठमाडौंबाट सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले करिब पौने १० बजेतिर रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी घाइते भएका थिए ।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी केसीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकललाई तीव्र गतीमा रहेको स्कारपियोले गलत दिशामा गएर ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि लगिएकोमा लमही स्थित अस्पतालमा निधन भएको केसीले जानकारी दिए ।
एसपी केसीका अनुसार स्कारपियोले आफ्नो दिशामा गइरहेको मोटरसाइकललाई दाङको राप्ति गाउँपालिकाको सिंगेस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा ठक्कर दिएको हो ।