काठमाडौं । इजरायल सरकारले आइतबार हमास समूहको आक्रमणमा निधन भएका दश नेपाली विद्यार्थीमध्ये पाँचजनाको शव तेलअभिभस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको छ ।
घटनामा निधन भएका थप पाँचजनाको शव प्राप्त हुने क्रममा रहेको नेपाली राजदूतावासले जनाएको छ । दक्षिण इजरायलमा रहेको सेडोट नेगेभ एग्रिकल्चर सेन्टरअन्तर्गत किबुज अलुमिममा उनीहरूमाथि २० असोजमा हतियारधारी हमास समूहले आक्रमण गरेको थियो ।
नेपाली राजदूतावासका अनुसार कैलाली घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, दार्चुलाको मल्लिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, दार्चुलाको लेकम गाउँपालिका– ५ दीपेशराज विष्ट र कैलाली बौनियाँका आशिष चौधरीको शव प्राप्त भएको हो ।
डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा, सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह र सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको शव प्राप्त हुने क्रममा रहेको दूतावासको भनाइ छ । ‘घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले भनेको छ ।