आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वीर अस्पतालमा स्वास्थ्यमन्त्रीको बठ्याइँ, दरबन्दी थपेर ६३ करार कर्मचारी राख्ने गराए निर्णय

आइतबार, असोज २८ २०८०

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेट बैठकले नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय समेत गरेको हो ।

बैठकले थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याब टेक्निसियन पाँच जनाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्ससहित इलेक्ट्रिसियन, प्लम्बर, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ ।

स्वास्थ्यकर्मी र करारका कर्मचारी गरी २७६ जना हटाएको केही दिन भित्रै मन्त्रीकै संलग्नतामा थप कर्मचारी थप गर्ने निर्णय हुनु यस अघि उनीमाथि लाग्दै आएको आरोप पुष्ट्याईमा बल पुग्छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा गत १५ असोजमा बसेको कार्यकारी परिषद्ले १८५ जना नर्ससहित २७६ जना कर्मचारीलाई २१ असोजबाट लागू हुने गरी हटाएको थियो । त्यो बेला करार जनशक्तिलाई हटाएर आफ्नो मान्छे भर्ति गर्न स्वास्थ्यमन्त्रीलाई आरोप समेत लागेको थियो । नभन्दै अहिले सो आरोप प्रमाणित हुँदै गएको छ ।

अस्पताल प्रशासनले भने स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तर दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर हटाउनुपरेको बताएको थियो ।

पूर्व जानकारीबिना आफूहरूलाई कामबाट हटाइएको भन्दै हटाइएका स्वास्थ्यकर्मीहरूले भने अहिले पनि आन्दोलन जारी राखेका छन् । आफूहरुलाई सरकारले प्रयोग गरेको बताउँदै उनीहरुले आन्दोलनमा उत्रिन बाध्य भएकाे बताएका छन् ।

चौतर्फी विरोध भएपछि मन्त्री बस्नेतले देशको पछिल्लो आर्थिक अवस्थाका कारण सरकारले तलब दिन नसकेपछि उनीहरूलाई हटाउनु परेको प्रष्टिकरण दिँदै आएका थिए ।

यता मन्त्रालयकै केही अधिकारीहरु भने पूर्वसूचना नदिई निकाल्नुमा स्वास्थ्यमन्त्रीदेखि अस्पतालका पदाधिकारीको स्वार्थ रहेको बताएका थिए । करार जनशक्तिलाई हटाएर आफ्नो मान्छे भर्ति गर्न स्वास्थ्यमन्त्री लागेको उनीहरुले आरोप लगाएका थिए ।

नभदै आफ्ना मान्छे नियुक्तिका लागि स्वास्थ्यमन्त्रीले  न्याम्सका पदाधिकारीलाई समेत दबाब दिएको स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस् :  वीरका २७६ करार स्वास्थ्यकर्मी हटाएर आफ्ना मान्छे राख्ने स्वास्थ्यमन्त्री र अस्पतालकाे दाउपेच !