आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मनाङ एयरका पाइलट सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बइ लगियो

आइतबार, असोज २८ २०८०

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको हो । मेडिकल टोलीसहित श्री एयरलाइन्सको चार्टर्ड उडानबाट उनलाई थप उपचारका लगिएको अस्पतालले जनाएको छ ।

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो । उनको उपचार इमर्जेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

“उहाँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ”, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो ।