काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् ।
आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी गराएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् । सन्दीपले ती प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् ।
सन्दीपले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् ।
ञभारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनस्जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म।’ उनले लेखेका छन् ।
सन्दीपमाथिको मुद्दा लामो समयदेखि जिल्ला अदालतमा विचाराधीन छ । विभिन्न बहानामा फैसला पेशी सर्दै आएकाको सन्दीप निराश छन् ।