बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले सुदूरपश्चिमकाे अध्यक्षमा जैशीसहित सबै पदाधिकारी सर्वसम्मत चयन

बिहिबार, असोज २५ २०८०

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी अन्य पदाधिकारीहरु पनि सर्वसम्मत निर्वातित भएका छन् ।

अध्यक्षमा अछामका जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो । मनोयन दर्ता गराएका कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो ।

सचिवमा कैलालीका रणबहादुर चन्द पनि सर्वसम्मत चयन भएका छन् । सचिवका प्रत्यासी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द पनि सर्वसम्मत भए ।

यसैगरी उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट निर्वाचित भएका  छन् ।

उपसचिव (खुल्ला) मा रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका छन् ।

उपसचिव (महिला) मा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएका छन् ।