-दुर्गा चौंलागाईँ
काठमाडौ । सर्लाही जिल्लाको लालबन्दी वडा नम्बर ८ मा बिजया दशमीको शुभ अवसर पारेर आजबाट नगर स्तरीय वडा अध्यक्ष कप –२०८० फुटबल प्रतियोगिता सुरु हुँदैछ।
लालबन्दी नगरपालिका र नगरका वडाहरु विच हरेक वर्ष सम्पन्न हुँदै आएको नगर स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता यस वर्ष वडा नम्बर ८ ले सम्पन्न गराउने जिम्मेवारी पाएको हो।
लालबन्दी नगरपालिकाको सहयोगमा लालबन्दी नगरपालिका वडा नम्बर ८ को कार्यालय आयोजक रहेको यो प्रतियोगिताको सह–आयोजक यसै वडामा रहेको स्थानीय क्लब एट स्टार यूवा क्लव रहेको छ।
“देश प्रतिको हाम्रो माया,खेलकुदको विकास हाम्रो चाहाना”भन्ने मुल नाराका साथ आज असोज २४ गते बुधबार बाट सुरु हुन गइरहेको यो प्रतियोगिता कार्तिक ३ गते शुक्रबार सम्म संचालन हुने लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शुक्र लामाले जानकारी दिए ।
लालबन्दी नगरपालिकामा रहेको १७ वटा वडाबाट प्रत्येक वडाको एउटा क्लवका दरले १७ वटा क्लवको सहभागितामा सञ्चालन हुने वडा अध्यक्ष कप फुटबल प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने आयोजकले बताएको छ ।
करिब १२ लाख खर्च लाग्ने अनुमान गरिएको यो प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख प्रमाण पत्र र मेडल, द्धितिय हुने टिमले नगद रु पचास हजार प्रमाण पत्र र मेडल अनि तृतिय हुने टिमले नगद रु पच्चीस हजार प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।प्रतियोगिताको हरेक दिन म्यान अफ द म्याच हुने खेलाडीले नगद रु पाँच हजार प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार नगदले सम्मान गरिने जनाइएको छ।
यसैगरी प्रतोयोगिताकै सर्वाेउत्कृष्ट खेलाडी र उत्कृृष्ट प्रशिक्षकले जनही नगद रु सात हजार पाउने पनि आयोजकले बताएको छ ।
एक भब्य औपचारिक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको उद्धघाटन गरिने यस प्रतियोगिताको पहिलो दिनको खेल आयोजक वडा नम्बर ८ र वडा नम्बर १३ का बीच दिउँसो ३ बजेबाट हुनेछ ।