काठमाडौं । देशको आर्थिक अवस्थालाई लिएर वर्तमान गठबन्धन सरकारले यसै वर्ष धेरै विदेश भ्रमण नगर्ने, अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई विदेश भ्रमणमा नपठाउने तथा आर्थिक मितव्ययिता अपनाउने नीति लिएको छ । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेलगत्तै मितव्ययी बन्न भन्दै अनावश्यक विदेश भ्रमण नगर्ने लगायतका निर्णय गरेका थिए । तर पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने उक्त निर्णय कागजमै सीमित भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार भदौ लागेयता मन्त्रीहरुले मात्रै १६ वटा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वैदेशिक भ्रमण गरिसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नै एकैपटक अमेरिका र चीनको आधा महिना लामो भ्रमण सकाएर फर्किएको धेरै भएको छ ।
न्यूयोर्कमा ६ दिन बिताएपछि प्रधानमन्त्री प्रचण्ड ५ असोजमा अमेरिकाबाटै चीन गएका थिए ।
![]()
![]()
पछिल्लो डेढ महिनामा प्रधानमन्त्रीले १५ दिन देशबाहिर नै बिताए भने भदौमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन र यही असोजमा सभामुख देवराज घिमिरे आरल्यान्ड भ्रमणमा गएका थिए।
यसैबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना अहिले स्पेन भ्रमणमा गरेकी छिन् । यही असोजमा सभामुख देवराज घिमिरे आरल्यान्ड भ्रमणमा पुगेका थिए ।
भदौको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत क्षयरोग नियन्त्रण सम्बन्धी बैठकमा भाग लिन भारत गएका थिए । त्यसैबेला शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई चीनको कुनमिङ भ्रमणमा थिए ।
अर्थमन्त्री प्रकाशशरण महत पनि ३ भदौमा ‘विश्व वातावरण सुविधा’का सातौं सभामा भाग लिन क्यानडा पुगेका थिए ।
२२ भदौमा शहरी विकासमन्त्री सीता गुरुङ नेदरल्यान्ड, फ्रान्स र बेल्जियमको एक साता लामो युरोप भ्रमणमा गएकी थिइन् ।
२६ भदौमा परराष्ट्रमन्त्री एनपी साउद राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएका थिए ।
२८ भदौमा जी–७७ को सम्मेलनमा भाग लिन भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल क्युबाको हवाना गए ।
५ असोजमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्रराय यादव पनिप्रधानमन्त्री पुष्पकमल प्रचण्डको टोलीमा सामेल भएर चीन पुगे । टोलीमा मुख्यसचिव डा। वैकुण्ठ अर्यालसहित विभिन्न मन्त्रालयका सचिव समेत सामेल थिए ।
६ असोजमा परराराष्ट्रमन्त्री साउद प्रधानमन्त्रीसँगै अमेरिकाबाट चीन भ्रमणका लागि पुगे । त्यहीबेला एशियाली खेलकुद हेर्न युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु चीनकै ह्वाङ्झाउमा पुगेका थिए ।
५ असोजमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री महत राजस्व सचिव रामप्रसाद घिमिरेलाई लिएर इजिप्टको कायरो पुगेका थिए ।
७ असोजदेखि चीनको बेइजिङमा सुरु भएको ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमको बैठकमा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई चीन गएकी थिइन् ।
केही दिन अघि ‘एशियाका संसदहरूमा लैंगिक समानतामा समावेशिता र विविधता’ विषयक कार्यक्रममा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि राज्ययमन्त्री प्रमिला कुमारी श्रीलंकाको कोलम्बो गएकी थिइन् । अहिले श्रममन्त्री युरोप भ्रमणमा छन् भने अर्थमन्त्री मोरक्को गएका छन् ।
१५ र १६ भदौमा भएको सहकार्यसम्बन्धी कार्यक्रममा भाग लिन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्यान्डको जुरिच पुगे ।
७ असोजदेखि सुरु भएको एक कन्फ्रेन्समा सहभागी हुन महान्यायाधिवक्ता दिनमणि पोखरेल लन्डन पुगे ।
पछिल्लो ९ महिनामा ५१ जना सांसदले विदेश भ्रमण गरेका छन् । कांग्रेस सांसदद्वय डा. आरजु राणा देउवा र विनोद चौधरीले पनि सिंगापुर भ्रमण भ्याएका छन् ।
-पत्रपत्रिकाबाट