धनगढी । नेकपा एमालेको सुदूरपश्चिम अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो ।
अहिलेसम्म बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ ।
साँढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय ताेकिएकाे प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले नेतृत्वमा सहमति जुटाउन सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल अघि बढाएपनि सहमति जुट्न नसकेको हो ।
महासचिव पोखरेलले छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिएका थिए।
नेताहरु सहमतिको अन्तिम प्रयास जारी रहेपनी आकांक्षीहरूकाबीच अझै कुरा मिल्न नसकेकाले निर्वाचन प्रक्रिया जाने निश्चीत भएको हो ।
निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ। अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि यहाँ सहमति हुन नसकेकाले चुनाव हुने प्रायःनिश्चित छ ।