काठमाडौं । राजनीतिक दलहरूले इजरायलमा युद्धक्षेत्रमा फसेका नेपालीको तत्काल उद्धार गर्न तथा युद्धबारे सन्तुलित भएर प्रस्तुत हुन सरकारलाई सुझाव दिएका छन् ।
सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा नेताहरूले अप्ठ्यारोमा रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउन र स्वदेश फर्कन चाहनेलाई तत्काल जहाजको प्रबन्ध गर्न सुझाव दिएका हुन् ।
सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह गरेका छन् । सोमवार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा सबै दलका नेताहरुले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र मृतकको शव यथाशिघ्र नेपाल ल्याइ परिवारलाई बुझाउन आग्रह गरेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए ।
उनले सरकारले सन्तुलित ढंगबाट प्रश्तुत हुनुपर्ने र जिओपोलिटिकल सेन्सिटिभिटीलाई हेरेर पनि चल्नुपर्ने कुरा आफूहरुले राखेको बताए । उनले बंकरमा बसेकाहरुलाई तत्काल उद्धार गर्न पनि आग्रह गरेका थिए ।
त्यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको हमलामा पीडामा र डरमा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न आग्र गरिएको बताए ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा भएको घटनाबारेमा छलफल भएको र राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको बताए ।
यसैबीच आज परराष्ट्र मन्त्रालयले इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा रहेको बताउँदै मुख्य संकट टरेको समेत बताएको छ ।
नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।