दाङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई नेपाल सरकारले तत्काल सुक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन्।
दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्वोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र परेका नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउने गरी पहल थाल्न आग्रह गरेका हुन्।
‘इजरायलको घटनाले दुःखी बनाएको छ। हामी दुःखी छौं। सरकारले छिटो त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस। अनी नेपाली जहाज पठाएर भए पनि आफ्नो देशमा ल्याउन भूमिका खेलोस’उनले भने,‘सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको खबर सुनेको छु। घाइतेको उपचार र शव चाँडै नेपाल भूमिका खेल्नुपर्छ।’
यस्तै उनले समाजवादी जागरण यात्राले समाजवादको बलियो जग निर्माण गर्ने दावी गरे। उनले कृषि क्षेत्रबाटै मुलुकको समृद्धि हुने जिकिर गर्दै देशमै रोजागरीको अवसर सृजना गर्न सरकारले ध्यान दिनुपर्ने बताए।
‘कुशासन हट्नुपर्छ। अनी देश अघि बढ्छ’उनले भने,‘यसका लागि समाजवादको बलियो आधार चाहिन्छ। त्यही आधार बनाउन हामी हिडेका छौं।’ समाजवादी जागरण यात्रा एक हजार दुई सय किलोमिटर पार गरेर टुंगिने बताए।
असोज ९ गते पूर्वी झापाबाट सुरु भएको यात्रा असोज २९ मा सुर्खेतमा पुगेर टुंगिनेछ। कार्यक्रमलाई उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्वोधन गर्दै समाजवादी जागरण यात्राले नयाँ उर्जा थपको दावी गरे। दाङमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा सम्मानति नेता झलनाथ खनाल, पार्टीका नेताहरु घनश्याम भुसाललगायत नेता आएका छन्।