काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले तत्काल उद्धारको अपिल गरेका छन् ।
तीन दिनदेखि एउटा बंकरमा लुकेर बसेका बिपिन सुवेदीले भिडियो मार्फत नेपाल सरकारलाई चाँडै उद्दार गरिदिन आग्रह गरेका छन् ।
देशले तीन दिनसम्म केही नगरेको बताउँदै उनले सरकारसँग अपिल गरेका छन् । आफूहरु एकदमै दर्दनाक अवस्थामा रहेको बताउँदै उनले रातभर निदाउन नसक्ने बताएका छन् ।
अब आफूहरु कुर्न नसक्ने बताउँदै उनले आफूहरुले देश फर्केर देशमा लागि केही गर्नसक्ने बताउँदै अनुनय विनय गरेका छन् ।
आफूहरु पाँच जनाको समूह एउटै बंकरमा अहिलेसम्म भोक प्यासै भएपनि सुरक्षित अवस्थामा रहेको बताउँदै कुनबेला आतंककारी आएर आफूहरुलाई गोली हानेर मार्नसक्ने भन्दै उनले उद्दार गरिदिन आग्रह गरेका छन्।
सरकारका मिटङका कुनै निर्णय होइन आफूहरुलाई तत्काल उद्दारको खाँचो रहेको उनले बताएका छन् ।
‘१० जना साथी गुमाइसकेका छौँ हामी पनि गुम्छौ कि भन्ने डर छ । १० जना साथीहरूले गरेको हार गुहार हामीलाई याद आउँछ’ उनले भनेका छन्, ‘यहाँ आएर हाम्रो साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरता पूर्वक मारो भने हामी पनि त्यसै गरि मर्ने ?’
कृषि विश्वविद्यालयबाट गएका विद्यार्थी तथा जिटुजीबाट गएका कामदार नेपालीहरू कोही बङ्करभित्र भोक भोकै छन् भने कोही उद्धारको याचना गरिरहेका छन् ।
उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् ।
हालसम्म नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गइसकेको छ । केही घाइते र केही सम्पर्क बाहिर छन् ।
भिडियो : विपिनको फेसबुकबाट