बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज पनि बिहानैदेखि महेन्द्रनगर तनावग्रस्त

बिहिबार, भाद्र ७ २०७५

कञ्चनपुर भदौ, ७–
आज पनि कञ्चनपुरमा निर्मला पन्त हत्याको विरोधमा अशान्त कनेको छ ।  प्रदर्शनकारीले टायर बालेर बिहीबार बिहानैदेखि सडक अबरुद्ध पारेर प्रदर्शन थालेका छन् । 

पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् ।

बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा पनि लिएको थियो ।

प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको छ ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ ।