काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिन भित्रमा महानगर भित्रका मुख्य सडकमा सिसि टिभी र बत्ति जडान गरिने बताएको छ ।
महानगरकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने बताएकी हुन् ।
शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताइन् ।
उनले सिसि टिभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भइ काम अघि बढेको जानकारी दिइन् । धुलोरहित सडक बनाउनका लागि महानगरपालिकाले एक अर्बको टेण्डर अघि बढाइसकेको पनि उनको भनाइ थियोे ।
उपप्रमुख डंगोलले सो टेण्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको काम हुने बताइन् । विद्युत प्राधिकरणले सडक पेटीमा विद्युत बक्स राखिदिँदा पैदल यात्रीलाई असहज भएको भन्दै त्यसबारेमा सोच्न आग्रह समेत गरिन् ।
सवारी साधनको रुटमा विशेष पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले सडकका पूर्वाधार पनि व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको बताइन् ।