नेपालगन्ज । नेपालगन्जको अवस्था विस्तारै सुधारिँदै गएको छ । धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको थियो।
अवस्थामा सुधार आएपछि आज आंशिक रुपमा कर्फ्यु हटाइएको छ । आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाइएको छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ५ जनाभन्दा बढी भेला हुन नपाइने, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार दिउँसो नेपालगन्जमा सद्भाव र शान्तिका लागि निर्णय लिने उद्देश्यले सर्वपक्षीय बैठक बोलाइएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको शान्ति सुरक्षा मजबुत बनाउँदै सद्भाव र एकता बहाल गर्न सबै पक्षलाई बोलाएर सहमत गराई अवस्था पूर्ण सामान्य पार्ने प्रयास भइरहेको बताएका छन् ।