काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।
आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखेका हुन् ।
अध्यक्ष ओलीले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताउँदै भने, ‘जातीय हिंसाले कसैलाई फाइदा हुँदैन । यो अत्यन्त सवेदशनशील कुरा हो । जातीय र धार्मिक सद्भाव विथोल्नेदेखि सबै जना संवेदनशील हुन आवश्यक छ ।’