शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकारले जाँचबुझ आयोग बनाउन आनाकानी गरेपछि ओली पुगे प्रचण्ड भेट्न बालुवाटार

आइतबार, असोज १४ २०८०

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्च स्तरीय जाँचबुझ आयोग गठन गर्न आनाकानी गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगका विषयमा प्रधानमन्त्रीसँग कुरा राख्ने बुझिएको छ ।

सहमति अनुसार सुन तस्करी प्रकरणमा उच्च स्तरीय जाँझबुझ आयोन नबनेसम्म एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताउँदै आएको छ । हिजो मात्र एमाले संसदीय दलका सचेतक महेश वर्तौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब आज बस्ने संसद बैठकमा हुने बताएका थिए ।

बर्तौलाले आज बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अबरोध गर्ने बताएका थिए ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । तर यथास्थितिमा संसद चल्न दिनेपक्षमा एमालेले छैन ।

‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथि मिथ्या भ्रम छर्न दिउँसै रात पार्ने प्रपंच चलिरह्यो।’ वर्तौलाले भनेका छन् ।

यसअघि, दलहरूबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । सिआइबीले आफ्नो प्रतिवेदन बुझाइसकेपछि असोज ५ गते आयोग गठन गर्ने गरी गत भदौ ६ गते सहमति भएको थियो ।

गत साउन २ गते हङकङबाट अवैध रूपमा ल्याइएको क्विटल (जोख्दा ६० किलो ७१६ ग्राम) सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएपछि उक्त प्रकरणलाई लिएर गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समय संसद् अवरोध गरेको थियो ।

संसद्को गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलहरूबीच दुई बुँदे सहमति भएपछि सदन सुचारु भएको थियो । दलहरूबीच भदौ ६ गते भएको दुई बुँदे सहमतिमा भनिएको छ, ‘२०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी (तस्करी) गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो । उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान, छानविन गरिरहेको सर्वविदितै छ । केन्द्रीय अनुसन्धान ब्युरोले निष्पक्ष अनुसन्धान, छानविन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ ।’

‘विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेकसुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटक-पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानविन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्णरूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक/पटकको सुन तस्करी सम्बन्धमा भएका छानविन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०-०६-०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ ।’ दलहरूबीच भएको सहमति पत्रमा उल्लेख छ ।