बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कर वृद्धिको विरोधमा बुटवलमा कांग्रेसले गर्यो विरोध प्रदर्शन

शुक्रबार, भाद्र १ २०७५

बुटवल भदौ, १–
 नेपाली कांग्रेसले  कर वृद्धिको विरोधमा शुक्रबार बुटवलमा विरोध प्रदर्शन गरेको छ । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म गरेको करवृद्धि तत्काल फिर्ता लिन भन्दै कांग्रेसले प्रदर्शन गरेको जनाएको छ । 

अस्पताललाइनबाट नाराबाजीसहित सुरु भएको बिरोध र्याली नगर परिक्रमा गर्दै बुटवल उपमहानगरपालिकाको कार्यालय अगाडि पुगेको थियो । कार्यालयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो ।

विरोध जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्ने गरी गरेको कर वृद्धि बुटवलका जनताले नरुचाएको बताए । उनले करवृद्धि गर्नेपरे पनि गत वर्ष भन्दा १० देखि १५ प्रतिशत मात्रै गर्नुपर्ने बताए । 

विगतमा १० हजार कर तिर्नेले अहिले ३५ हजार कर तिर्नु परेको भन्दै पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएको पाण्डेले बताए  । उनले भने, ‘बढेको कर फिर्ता नलिएसम्म आन्दोलन रोकिदैन, हामी झन् शशक्त भएर अघि बढ्छौं ।’

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले निर्वाचित जनप्रतिनिधिलाई करवृद्धि गर्न जनताले नजिताएको बताए । ‘जनप्रतिनिधिले धेरै सेवा सुविधा लिनका लागि कर वृद्धि गरेका छन्,धेरै सुविधा चाहिए लोकसेवा पढेर कर्मचारी भएर आऊ’ उनले भने ।

हाटबजारमा मकै पोल्नेसंग पनि कर लिइएको भन्दै उनले जनताको सेवक बन्न जनप्रतिनिधिलाई आग्रह गरे । अव्यवस्थित बसोवास गर्नेहरुलाई लालपूर्जा वितरण गर्न लागे जस्तो गरेर कर लिन लागेको भन्दै त्यसप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस नेताहरुले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै सुवेदीले बाहिर हल्ला आएजस्तो करवृद्धि नगरिएको दाबी गरे । उनले सबैको सल्लाह र सुझावसहित आफू अघि बढ्ने आश्वासन दिए ।