काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठक लामो समय स्थगित गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो अधिवेशन उद्घाटनपश्चात् उनले संसद् बैठकबाट सरकार डराएको टिप्पणी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर जाँदा संसद् बैठक लामो समय स्थगित गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री बाहिर जाँदा १७ दिनसम्म संसद् बन्द गर्नुपर्छ ? भारतका प्रधानमन्त्री बाहिर जानुहुन्छ, त्यहाँ ताला बन्द हुन्छ ? त्यहाँ चल्छ, सरकारलाई डर छ संसद् चले सांसदले जनताको समस्या उठाउँछन् भनेर । जनताको समस्यामा छलफल गर्नु पर्दैन ?’