बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सोमबार, असोज ८ २०८०

काठमाडौं- काठमाडौं, चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित सडकमा बा.५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं नैकाप बस्ने गोरखा घर भएका ३२ वर्षीय अमन गुरुङको आइतबार राति मृत्यु भएको छ । ठक्कबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर हुँदै थप उपचारको लागि ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको ठोरी गाउँपालिका–३ ब्रहमानगरस्थित सडकमा प्र.२–०३–००१ त ३९८१ नम्बरको ट्याक्टरको टेलरमा बीआर ०५ एक्यु ६६७६ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका–४ बस्ने २० वर्षीय जयकुमार रौनियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ सेतापैरामा रा.१ च १०२५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक दाङ तुलसीपुर उपहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्त बहादुर घर्ती र जीपका साहु सोही ठाउँ बस्ने ५० वर्षीय गणेश बुढा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य १ जनाको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।