काठमाडौं । संसदमा दर्ता भएको विधेयकका विरुद्ध आन्दोलनमा उत्रेका शिक्षकहरु सरकारसँग वार्तामा बसेका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राईसहित शिक्षक महासंघका पदाधिकारीहरुसहित बिहीबार बिहान वार्तामा बसेका हुन् ।
बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।
संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् ।
आज पनि आन्दोलन जारी राख्ने बताएका शिक्षकहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् ।
शिक्षामन्त्रीले यसअघि वार्ताका लागि पटक पटक गरेको अनुरोध शिक्षकहरुले वेवास्था गर्दै आएका थिए ।