शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

शेखर समूहको निष्कर्ष:

सरकारको काम चित्तबुझ्दो छैन, विकल्प खोज्नु पर्छ

मंगलबार, असोज २ २०८०

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न आज (मंगलबार) कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो ।

बैठकले कांग्रेसले नै भ्रष्टाचारविरुद्धको अभियान रोकेको सन्देश जनतामा गएको निष्कर्ष निकालेको छ । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकले आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरुद्धको अभियान रोकिएको निष्कर्ष निकालेको हो ।

बैठकले सरकारले जनतामा आशा जगाउन नसकेको निष्कर्ष पनि निकालेको छ । ‘हाम्रो दलका नेताहरू समातिने डरको मनोविज्ञान बढेपछि भ्रष्टाचारविरुद्धको अभियान रोकिएको निष्कर्ष हो’, बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थामा संस्थापन पक्षले एकलौटी गरेको र तल्ला तहको निर्वाचन हारेकाहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गरेकोसहितका विषयमा छलफल भएको छ ।