काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू राजनीतिमा सक्रिय रहने बताएका छन्।
‘शनिबार बासँग बालबालिका’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अझै २० वर्षसम्म आफू राजनीतिमा सक्रिय रहने बताए ।
उनले आफू सक्रिय रहँदारहँदै योग्य व्यक्ति आए पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गरे । ‘म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन। आफू सक्रिय रहेकै वेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु’, उनले भने ।
ओलीले भने, ‘म आफूलाई अब्बल राजनीतिज्ञ त मान्दिनँ । पूर्वप्रधानमन्त्री चाहिँ भकै हुँ । अब्बल राजनीतिज्ञ अब तपाईंंहरूबाट जन्मिनुपर्छ । हामीभन्दा तपाईंंहरू बढी देशभक्त, विकास प्रेमी, क्लिन, भिजनरी, कर्मठ र क्रियाशील हुनुहुन्छ । त्यस्ता नेताका रुपमा सफल नेताका रुपमा तपाईंहरू आउनुपर्छ । मेरा केही असफलताहरू छन् । मैले नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकिरहेको छैन । तपाईंंहरूले ती षडयन्त्रलाई पराजित गर्नुपर्छ र नेपालाई साँच्चिकैको सार्वभौम, स्वतन्त्र र साँच्चैको स्वाधीन आफ्नो भूगोलको रक्षा गर्न सक्ने र राष्टिय हितको रक्षा गर्न सक्ने, राष्ट्रिय स्वाभिमानको झण्डा माथि उठाउन सक्ने हुनुपर्छ ।’
उनले सरकारले हिंसात्मक घटनालाई प्रोत्साहन गरिरहेको समेत बताए। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकमाथि कुटपिट गर्नेलाई सरकारले संरक्षण गरेको भन्दै अहिलेको सरकार शासक बनेको समेत आरोप लगाए ।
साथै अध्यक्ष ओलीले आफ्नो जेलजीवनबारे भने ओलीले आफ्नो जेलजीवनबारे भने, ‘तपाईंंहरू कसैको पनि मेरोजस्तो कष्टपूर्ण जीवन हुँदैनहोस् । जेलमा निर्मम यातना दिएर काठको तुर्लुङमा खुट्टा राख्दा भतभति पोल्थ्यो । खाने बेला कुटाइ पाइन्थ्यो । १४ वर्ष जेल बस्दा २५ पटक जेल सारियो । यातनाको कुनै सीमा थिएन । मसँग त्यसबेला दुःख सहने कि मर्ने भन्ने दुई विकल्प थिए ।’