शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

हेटौंडाका सबै स्वास्थ्य संस्था बन्द, ७८ चिकित्सकसहित स्वास्थकर्मीले दिए सामूहिक राजीनामा

शुक्रबार, भाद्र २९ २०८०

हेटौंडा । आकस्मिक बाहेकका हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले सबै सेवाहरू बन्द गरेका छन् ।

चिकित्सक कुटपिटको विरोध तथा सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

सुरक्षा नभएको तथा यथास्थीतिमा उपचार सेवा दिन नसक्ने भन्दै हेटौँडाका चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा बन्द गराएको जनाईएको छ ।

सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छन् ।

नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्राचारमार्फत घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेको जानकारी गराएका हुन् ।

एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो।

उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहित केही युवाले बुधबार दुईजना डाक्टरमाथि अस्पतालभित्रै छिरेर कुटपिट गरेका थिए ।

कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ ।