शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज कुशे औंशी : घर घरमा कुश भित्राइँदै, पितृसम्मान दिवस

बिहिबार, भाद्र २८ २०८०

काठमाडौं । आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन ।

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पबित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् ।

मुख्यतस ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिनेछ ।

धार्मिक र परम्परागत मान्यता अनुसार ब्राह्मणले ल्याएको कुश जजमानकहाँ पुर्‍याउन र त्यो कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने भएकाले आज राखिने कुशको बिशेष मान्यता रहेको छ ।

सनातन धर्मावलम्बीले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

पितृसम्मान दिवस यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ ।

यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।