काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन्।
अध्यक्ष नेपालले उनले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यमबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोसमेत बताए।
एमाले उपाध्यक्षसमेत रहेका संविधान सभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका उनले सञ्चारकर्मीमाझ नेम्वाङलाई नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महान हस्ती भएको बताए।
कुनै पनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङ सधैंभरी लागिरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले उनको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताए।