काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ दुबईबाट अवैधरुपमा भित्र्याइएको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फुत्काउने समूहका थप दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो । हिजो बिहान साढे ९ बजे हिमालयन एयरलाईन्सको जहाजमा दुबईबाट आएका दोङ ११ बजेतिर ९६० ग्राम सुनसहित एअरपोर्ट बाहिर सडकबाट समातिएका थिए ।
भन्सार छलीको उक्त सुन विमानस्थलबाट बाहिर निकाल्न सफल उनलाई विशेष सुराकीका आधारमा काठमाडौँ प्रहरीले विमानस्थल बाहिर सडक पेटीमा हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि दोङलाई सोधपुछ गर्दा सुन मलद्वारमा लुकाई ल्याएको पत्ता लागेपछि प्रहरी वृत्त गौशाला पुर्याई थप चेकजाँच गर्दा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो आकारको सुन मलद्वारमा फेला परेको प्रहरीले जनाएको छ ।
दोङले भन्सार छलि ल्याएको सुन लिन आएका अरु दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिएका छन् ।
दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानीखोला गाउपालिका ३ का हुन् । हाल पनौती नगरपालिका ५ बस्दै आएका छन् । थप अनुसन्धानको क्रममा मंगलबार ढल्कु स्थित बिगमार्टको पार्किङबाट अरु दुई जनालाई नियन्त्रणमा लिएको हो ।