काठमाडौं साउन, २३–
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको मृत्युको विषय रहस्यमय बनेको भन्दै घटनाको सत्य तथ्य यथाशिघ्र बाहिर ल्याउन आफन्तले माग गरेको छ । श्रावण १६ गते सुतेकै अवस्थामा कोठामै उनलाई एकाएक मृत अवस्था भेटिएपछि सौरभका आफन्तले उनले आत्महत्या नगरेको दाबी गर्दै उनको हत्या भएको दाबी गरेका छन् । पीडितले बुधबार राजधानीस्थित सञ्चारकेन्द्र नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि उनको शरीरमा निलडाम देखिएको, घाँटीमा ल्यापटपको तार बेरिएकोे, नाक, कान, मुखबाट रगत बगेको र १ बजेसम्म सँगै अध्ययन गरि सुतेको साथीले समेत थाहा नपाएको बयान दिनु लगायतका कारणले गर्दा उनको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य कल्याणी खड्काले शंकास्पद हत्या जघन्य अपराध भएकाले यसको सत्यतथ्य पत्ता लगाई कडा कारबाही हुनुपर्ने बताईन् । पछिल्लो समय समाजमा यस्ता खाले अपराधहरु बढ्दै गएकाले सरकारले यस्ता घटनाहरुमा कमी ल्याउनका लागि कुनै कसुर बाँकी राख्न नहुने धारणा राख्दै उनले यो घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन आफूले संसदमा समेत पहल गर्ने बताईन् ।
यसैबीच कार्यक्रममा मृतककी बहिनी सोनु उप्रेतीले भावुक हुँदै आफ्नो दाजुको आत्महत्या नभई हत्या भएकाले दोषीलाई कारबाही हुनुपर्ने माग राखिन् । उनले आफ्नो दाजुको मृत्युको कारण पत्ता नलालेसम्म समवेदना समेत नदिने जनाउँदै यस घटनाको विषयमा कलेजले चासो नराख्नु दुःखद भएको बताइन् ।
यसैगरी मृतककी आमा गोपिनी सापकोटा(उप्रेती)ले एक न्यायपत्रमार्फत सौरव जेहेन्दार मेहनती भएका कारण सँधै छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थी भएको बताईन् । उनले २०६६ सालको एसएससी परिक्षामा पनि ९३ प्रतिशत ल्याउन सफल भएका सौरभले प्लस टुमा पनि छात्रबृत्तिमा अध्ययन गरेका थिए । त्यसैगरी एमविविएस अध्ययनका लागि नोबेल मेडिकल कलेज विराटनगरमा छात्रबृत्तिमा पढ्ने अवसर मिलेको भएपनि अध्ययनको अन्त्यतिर रहस्यमय मृत्युको खबरले आफ्नो परिवार ठुलो शोकमा डुबेको बताईन् । न्यायपत्रमा आफ्नो छोराको हत्या भएको भन्दै घटनाको वास्तविकता नखोजि सामान्य तरिबाट घटना र हत्यारा उम्काउन खोजेको उनको आरोप छ ।
यसैबीच, सत्य तथ्य सहित यथासिघ्र घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायललाई सम्बन्धित कलेज, प्रहरी प्रसाशन हस्पिटललाई पटक पटक मौखिक अनुरोध गर्दा पनि ढिला भएकोले दवाव दिन आवस्यक भएको भन्दै श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले समेत भत्र्सना गरेको छ ।