म्याग्दी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुननिर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन्।
गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने, “ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।” सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताए ।
कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए ।
“कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,” उनले भने, “बेनी-जोमसोम-कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।” क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उनको भनाइ थियो ।
गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गरेका थिए। कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ ।