शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट रंगशाला बनाउन पहल गर्छ : मेयर बालेन

मंगलबार, भाद्र १९ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साह ले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् ।

सोमबार नेपाल र भारतको एसिया कपको खेल हेर्न श्रीलंका पुगेका बालेनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

उनले सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिवद्धता जनाए।

मेयर साहले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् । उनले आगामी तीन वर्षभित्र सिकाइ सुविधाका लागि हरेक वडामा बलिङ नेट राख्ने निर्णय यसअघि नै गरिसेको पनि स्मरण गराएका छन् ।

‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं । यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ,’ बालेनले लेखेका छन्, ‘र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको तीन वर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौं ।’