काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले लिएको विश्वासको मतविरुद्ध परेको रिटमा पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुनेभएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासमा आइतबार परेको पेसीपछि उक्त मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको हो ।
यसअघि तीन न्यायाधीशको इजलासले कोशी सरकारकै विवादमा फैसला सुनाएकाले दुई न्यायाधीशले हेर्न कि नहेर्ने विवाद पछि उक्त आदेश गरिएको हो।
यसअघि सर्वोच्चले थापालाई नै पदबाट हटाएको थियो। सर्वोच्चले तत्कालीन समयमा थापाले सभामुखको हस्ताक्षरसहित सरकारको दाबी गरेको कुरा संविधान विपरीत भएकाले पुन संविधानको धारा १६८को उपधारा २ को प्रक्रिया अनुसार सरकार गठन गर्न फैसला सुनाएको थियो।
पूर्ण इजलासमा २ भन्दा बढी न्यायाधीश हुन्छन् ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।