काठमाडौं– भेपमार्फत सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता देखिएको खहरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बगाउन सक्ने संकेत देखा परेको छ। प्रचण्डले महरालाई जोगाउने खेल राजनीतिक समीकरणसँग पनि जोडिने बताइन्छ। समाजवादी मोर्चामा नेत्रविक्रम चन्द विप्लवलाई ल्याउनका लागि भूमिका खेलेका महरालाई तत्काल पक्राउ गर्दा अर्कातिर बिग्रन सक्ने देखेपछि प्रचण्डले छोरा राहुललाई मात्र पक्राउ गराएको बताइन्छ।
चिनियाँ नागरिक याओ पुचेङ, ली वेन सुङ्ग र जिक्वान लिन भारतमा सन् २०२१ र २०२२ मा बरामद भएको १४७ केजी सुन तस्करीमा पनि पक्राउ परेर छुटेका व्यक्तिहरू हुन्। यो कनेक्शन ६० किलो सुनसँग पनि जोडिन्छ। महराका बाबुछोराको यो टिमसँग कनेक्शन भएको पर्याप्त प्रमाण छ। यस विषयले माओवादीभित्र पनि प्रचण्डसँग प्रश्न गरिएको छ। तर, यहि बेला उनले जनतासँग माओवादी भन्ने कार्यक्रम ल्याएर ध्यानलाई अलग बनाउन खोजेका छन्।
तर सुन प्रकरणमा नेता बचाउन खोजे कांग्रेस चुप लागेर बस्ने स्थिति नरहेको चेतावनी बारम्बार पाइरहेका प्रचण्डका सामु महरा पक्राउ गर्नुपर्ने बाध्यता पनि आई लाग्ने बताइन्छ। यता, चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डका लागि हालै जारी भएको नक्शाको विवाद पनि पेचिलो बनेको छ। चीनले नेपालको बुच्चे नक्शामात्र जारी गरेपछि बिरोध भएको छ। यसबारेमा चीनसँग प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्ने प्रवक्ता अग्नी सापकोटाले जनाएका छन्।