काठमाडौँ – उपनिर्वाचनमा एक सीट थप्नका लागि वाग्लेको चुनावी प्रचारमा सक्रिय भएका लामिछाने रास्वपामा समानान्तर शक्ति देखिएपछि अत्तालिएका छन् काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समानान्तर शक्तिका रुपमा उदाएका नेपाली कांग्रेस पृष्ठभूमीका स्वर्णिम वाग्लेलाई दबाउने नीति अख्तियार गरेका छन् ।
सार्वजनिक कार्यक्रममा सक्रिय देखिएका लामिछानेले वाग्लेलाई मिडियामा समेत आउनमा रोक लगाउने नीति अख्तियार गरेका हुन् । वाग्लेलाई रास्वपामा लामिछानेको प्रतिस्पर्धीका रुपमा व्याख्या गरिन्छ ।
मंसिरमा महाधिवेशनको घोषणा गरेको उक्त पार्टीमा सभापतिका रुपमा वाग्लेको उम्मेदवारी पर्न सक्ने खतरालाई अहिले नै टारेर सर्वसम्मत सभापतिमा दोहोरिने लामिछानेको चाहना छ । यसैकारण पनि उनले केन्द्रीय समिति र प्रतिनिधिमा आफ्ना मान्छेलाई अगाडि ल्याउने प्रपञ्च गरेको बताइन्छ । ‘रवि लामिछाने एकात्मक नेतृत्वको पक्षपाती हुन् । उनी प्रतिस्पर्धासँग त्रसित भएर नै रास्वपामा उदाउन सक्ने अन्य नेतालाई पाखा लगाउने सक्रिय देखिन्छन्’, उच्च स्रोतले भन्यो,‘त्यहि भएर अहिलेसम्म सांसदलाई केन्द्रीय समितिमा ल्याएका छैनन् । यसो हुनुमा उनी केन्द्रीय समितिमा अहिले बहुमतमा छन् । अल्पमतमा पर्न चहाँदैनन् ।’
हुन पनि भएभरका हुल्लडबाज र भाइरल भएका व्यक्तिलाई पार्टीमा समावेश गरी लामिछाने अगाडि बढेका छन् । अहिले विभिन्न ठाउँमा संगठन विस्तारको विषयमा पनि वाग्लेसँग कुनै पनि प्रकारको सरोकार नराखी लामिछानेको मनपरी चलिरहेको विषयमा पार्टीमा चर्चा हुने गरेको छ । ‘दीपक बोहरा, डीपी अर्याल, रमेश प्रसाई बोकेर हिँडिरहेका छन् । वैचारिक सैद्धान्तिक विषयमा पार्टीभित्र कुनै चर्चा नगरी भाइरल अस्त्र प्रयोग गरी लामिछाने अगाडि बढेका छन्’, वाग्लेनिकट स्रोतले भन्यो,‘यसरी पार्टी लामो समयसम्म चल्ने अवस्था हुँदैन ।’
टेलिभिजन कार्यक्रममा हप्पाएको भरमा भाइरल भएका लामिछाने आफैं पनि विवादीत रहेका कारण कतिपय त्यस्तै पात्रलाई नै अगाडि बढाउने काममा सक्रिय भएका छन् । हुन त वाग्ले पनि विवादबाट बाहिर छैनन् । तर उनको आलोचना सैद्धान्तिक विषयमा पैरवी गरेका कारण हुने गरेको छ । ‘सबैभन्दा बढी विवादीत बनेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशनको पक्षपाती भएर वाग्ले हिँडेको र सोही विषयको उठान सतहमा हुने त्रासले पनि लामिछानेलाई सताएको छ’, स्रोतले भन्यो,‘यसकारण पनि अहिले विभिन्न सभा सम्मेलनमा वाग्ले नदेखिनुको कारण त्यहि हो ।’
यता धरानमा भएको सद्भावविरोधी आन्दोलनमा पनि लामिछानेको पार्टीको अग्रसरता रहेको भनी मेयर हर्क साम्पाङले अर्को आरोप थपेपछि नयाँ बहस सुरु भएको छ । लामिछानेलाई उक्त विषय पनि टाउको दुखाई बनिदियो । ‘राजनीति गर्नका लागि धरातल छाड्न हुन्न, सिधा लेनदेनको कुराकानी गर्ने अनि नपाए आदर्शको गफ दिने, एकात्मक शासन चलाउने लामिछानेको चरित्रले रास्वपा लामो समयसम्म जान सक्तैन’, उनकै पार्टीका कतिपय केन्द्रीय सदस्य भन्छन्,‘यो त निर्वाचनपछि समानुपातिक सांसद छनौटका क्रममा नै देखिएको थियो ।’